११ जेष्ठ २०८३, सोमबार

नागरिक एपमार्फत सेवाहरूको पहुँच सहज बनाउन

28


काठमाडौँ —नागरिक एपलाई सरकारको प्रमुख डिजिटल उपकरण बनाइने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌मा आज सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन ‘फेसलेस सेवा’ विस्तार गरिने घोषणा गरे ।

राष्ट्रपति पौडेलका अनुसार सम्भव भएसम्मका सबै सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराइनेछ । नागरिक एपमार्फत सेवाहरूको पहुँच सहज बनाउन विभिन्न सरकारी तथा सार्वजनिक सेवाहरू उक्त एपमा एकीकृत गरिनेछन् । हाल एपमा ६५ वटा सार्वजनिक सेवा उपलब्ध रहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव अनिलकुमार दत्तले जानकारी दिए ।

सरकारले सेवा प्रवाहको दक्षता अभिवृद्धिका लागि स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र स्थापना गर्न लागेको पनि राष्ट्रपति पौडेलले जानकारी दिए । भारतको कमन सर्भिस सेन्टर (सीएससी) जस्तै नेपालमा नागरिक सेवा केन्द्र सञ्चालनको चर्चा लामो समयदेखि हुँदै आएको छ !

सरकारले बालबालिकाका लागि सञ्चालित हेल्पलाइन सेवालाई पनि नागरिक एपसँग जोड्ने तयारी गरेको छ । साथै, सबै सरकारी अस्पताललाई एउटै अनलाइन प्रणालीमा आबद्ध गर्दै स्वास्थ्य सेवा पहुँचलाई समेत नागरिक एपमा समेटिने योजना रहेको राष्ट्रपति पौडेलले बताए ।

उनले साइबर सुरक्षा, डेटा सुरक्षा तथा एप डेभलप्मेन्ट र सुदृढीकरणलाई समन्वयात्मक ढंगले अघि बढाउने सरकारको योजना रहेको सुनाए । बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई पराम्परागत ज्ञान र सीप र समुदायसँग जोडिने जानकारी दिँदै संघ, प्रदेश र स्थानीय तह र निजी शैक्षिक संस्थाको समन्वयमा वैज्ञानिक जनशक्ति उत्पादन गर्ने सरकारबारे पनि राष्ट्रपति पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.