प्रदेश नामाकरणमा जसपा र नेकपा एसको फरक मत, किरात-लिम्बुवान-सगरमाथा प्रदेश नाम प्रस्ताव
विराटनगर । प्रदेश १ को प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) ले संयुक्त रूपमा किरात-लिम्बुवान-सगरमाथा प्रदेश नामकरणका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका छन् ।
दर्ता गरिएको प्रस्तावमा एकीकृत समाजवादीका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक र स्वास्थ्यमन्त्री तथा जसपाकी प्रदेश सांसद निर्मला लिम्बू र एकीकृत समाजवादीका कमलप्रसाद जबेगु समर्थक रहेका छन् । प्रस्तावक राईले सुरूमा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले छुट्टै प्रस्ताव दर्ता गराउने सहमति गरे पनि दर्ता गराउने बेलामा पन्छिएको आरोप लगाए । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुईतिहाई सांसद अर्थात ६३ जनाको समर्थन हुनुपर्ने संवैधानिक व्यवस्था छ ।प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाका १ जना सांसद छन् ।