बेलबारीका नगर प्रमुख तथा उपप्रमुख सहित १४ उम्मेदवार कारवाहीमा
निर्वाचन आयोगले तोक्यो ४ लाख ५० हजार जरिवाना
बेलबारी नगरपालिकाका प्रमुख दिल प्रसाद राई र उपप्रमुख नितु थापासहित निर्वाचनमा उम्मेदवार भएका बेलबारीका १४ जनालाई निर्वाचन आयोगले प्रति व्यक्ति ४ लाख ५० हजार जरिवाना तोकेको छ । प्रमुख राई र उपप्रमुख थापा दुवै जरिवानामा परेका छन् । त्यस्तैनगर प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसबाट महेन्द्र सुवेदी, नेकपा माओवादी केन्द्रबाट नगेन्द्र खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका खेमप्रसाद गौतम, नेकपा एकीकृत समाजवादीका भूपाल बस्नेत, स्वतन्त्र उम्मेदवार राम बहादुर चौहानलाई निर्वाचन आयोगले कारबाहीगरेको छ ।
नगर उपप्रमुख पदका उम्मेदवार नेकपा एमालेका तील कुमारी नेउपाने, माओवादी केन्द्रका नेत्र कुमारी थापा, राप्रपाका पार्वता पौडेल, जनता समाजवादी पार्टी, नेपालका अमिर मगर, नेकपा एसका शान्ति देवी ढुगांना, स्वतन्त्र उम्मेदवार रुकमिणी धिमाल र निरज अधिकारी कारवाहीमा परेका छन् । आयोगका अनुसार निर्वाचन खर्चको विवरण नबुझाउने तथा विलम्ब गरी बुझाउनेहरूलाई २०७९ श्रावण ३१ गतेको निर्णय बमोजिम गोरखापत्रमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र स्पष्टीकरण पेस गर्न भदौ १ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरिएको थियो ।