माङसेबुङको अध्यक्षमा एमालेका हेमन्त राई र उपाध्यक्षमा जसपा नेपालका विनोद नेम्बाङ विजयी
माङसेबुङ । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई र उपाध्यक्षमा जनत समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् ।
एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका डिकेन्द्र इदिङ्गोले ३ हजार ४ सय ९५ मत पाएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए ।
मंगोल नेशनल अर्गनाइजेशनका प्रेमकुमार केरुङले १४ मत मात्र पाए ।
इदिङ्गो निवर्तमान गाउँपालिका अध्यक्ष हुन् । २०७४ को स्थानीय तह सदस्य निर्वाचनमा राईलाई नै पराजित गर्दै इदिङ्गो अध्यक्षमा विजयी भएका थिए । ५ वर्षपछि दुवै नेताबीच दोश्रो पटक आमनेसामने भएका हुन् । यसपटक भने राईले बाजी मार्न सफल भए ।