२० आश्विन २०८१, आईतवार

म सबैको साझा व्यक्ति भएर काम गर्न प्रतिबद्ध छु:गोपाल याक्खा

राजनीति नितान्त जनताको सेवासंग जोडिनु पर्छ ।

321

केराबारी, बैशाख २४। विदेशी भुमिमा पाईला टेकेपछि त झन आफ्नो देशको माया लाग्दो रहेछ, जन्मभुमिको महत्व थाहा हुने रहेछ, कुराकानीको सुरुवातमै केराबारी निवासी गोपाल याक्खाले भने । चुनावी मैदानमा उभिएर घरदैलो कार्यक्रममा व्यस्त मोरङ्गको केराबारी गाउँपालिका वडा नं ९ मा संयुक्त गठबन्धनका तर्फबाट अध्यक्षका उम्मेद्वार हुन् गोपाल याक्खा । केही समय विदेश बसेर नेपाल आएका उनी अहिले विभिन्न क्षेत्रमा सक्रिय छन् ।लामो समय देखी समाजसेवामा समेत सक्रिय याक्खा पेशाले व्यवसायी हुन् । याक्खा राजनीति नितान्त जनताको सेवासंग जोडिनु पर्छ भन्नेमा विश्वास राख्छन् । पछिल्लो समय राजनीतिलाई व्यक्तिगत स्वार्थ परिपुर्तिका लागि प्रयोग गरीएकै कारण पनि आफु नेतृत्वमा आउन जरुरी रहेको उनको भनाई छ । नेपाली कांग्रेस मोरङका जिल्ला कार्यसमिति सदस्य समेत रहेका गोपाल याक्खासंग पहिलो उडानडटकमले गरेको संक्षिप्त कुराकानी ।

निर्वाचनको मिति नजिकिदैछ, के कस्तो तयारी गरीरहनु भएको छ ?

समय छोटिदै गएको अवस्था छ । त्यसैले पनि तयारी तिव्र छ । गर्नुपर्ने कुनै पनि कुरा, जानुपर्ने कुनै पनि ठाउ नछुटोस् भन्ने हिसाबले नै अगाडि बढिरहेका छौ ।

घरदैलो कार्यक्रम लगभग सक्नुभयो, वडाबासीबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?

प्रतिक्रिया एकदमै राम्रो आएको छ । हिजो भएका कमि कमजोरीलाई नदोहोर्याउन सुझाव सल्लाह पनि पाएका छौ र राम्रो काम गर्दै अगाडि बढ्न आर्शिवाद र हौशला पनि पाएका छौ ।

भोट माग्न जनताको घर घर पुगिरहदा तपाईको वडामा मुख्य गरी के के समस्या रहेको पाउनुभयो ?

मुख्य समस्या खानेपानीको समस्या, बेलचौरी र भलुवा जोड्ने पुल लगायतका समस्याहरु छन् । अघिल्लो नेतृत्वले प्रयास गर्दा गर्दै रोकिएका केही कामहरु पनि छन् ।जुन समस्याहरू वडा, पालिका देखी प्रदेशसम्म नै पहल गरी समाधान गर्ने प्रतिवद्धता समेत मैले गरेको छु । अब जनप्रतिनीधि भए पछि झनै नजिक बाट जनताका समस्या बुझ्ने कोसिस गर्दै सर्वसुलभ सेवा, सुबिधा पुर्याउनेछु ।

विभिन्न क्षेत्रमा रहेर काम गरीरहनु भएको छ, सामाजीक काममा त धेरै अगाडिबाट नै अग्रसर रहदै आउनु भएको छ, यसैपनि जनताको सेवामै हुनुहुन्छ फेरी किन उम्मेद्वारी दिनुभयो ?

पहिलो कुरा त म नेपाली कांग्रेसको जिल्ला कार्यसमिती सदस्य छु र मेरो पार्टिले मलाई उम्मेद्वार बन्न सक्षम सम्झियो । अर्को महत्वपुर्ण कुरा मलाई लाग्छ मेरो वडा लगायत सबै वडा र पालिकाहरुको विकास गर्न छ भने सबै राजनीतिक दलहरु एक ढिक्का हुन जरुरी छ । त्यसको लागि म जनप्रतिनिधि बनेर समन्वयकारी भुमिका निर्वाह गर्न सक्छु भन्ने लाग्छ । त्यसैगरी म मेरो भिजन, मेरो एजेण्डामा स्पष्ट र प्रतिबद्ध पनि छु । जनप्रतिनिधि बनेर जनताको सेवा गर्दा अझ प्रभावकारी बन्छ कि भन्ने पनि लाग्छ साथै सेवा संगै वडाको विकास पनि मेरो योजनामा भएको कारण मैले उम्मेद्वारी दिएको हुँ ।

तपाईको योजनामा रहेका मुख्य विषयहरु भन्दिनुस्न , कुन कुन कुरालाई प्राथमिकतामा राख्नु भएको छ ?

सबैभन्दा प्राथमिकताको कुरा साधारण छ तर महत्वपुर्ण पनि उत्तिकै छ, त्यो हो सेवा प्रवाहका कुरा । सहज, छिटो र झन्झट रहित सेवा प्रवाह गर्ने मुख्य कुरो । वृद्धा भत्ता, एकल महिला भत्ताका लागि घण्टौ बैंकमा लाईन बस्नपर्ने समस्यालाई समाधान गर्न टोल टोलमा त्यो सुविधा पुर्याउने, अझ अपाङ्ग, अशक्त र सुत्केरी महिलाहरुलाई घर घरमै सेवा प्रवाह गर्ने । त्यसैगरी स्वरोजगार कार्यक्रम अन्र्तगत कम्तिमा पनि दुई सय जनाको लागि तालिम मात्र नभई उनीहरुका लागि रोजगारीनै सिर्जना गर्ने, विकास निर्माणका कामहरु, महिला शसक्तिकरणका कार्यक्रम, स्वास्थ्य विमा लगायत वडामा जति पनि समस्या छ सकिन्छ वडाबाटै सकिदैन पालिका, प्रदेश वा केन्द्रसंग नै भए पनि समन्वय गरी समस्याको समाधान गर्ने योजना रहेको छ । साथै सबै धर्मावलम्बिहरुको हक, अधिकार सुनिश्चित गर्ने, शिक्षा, कृषि सबै क्षेत्रका समस्या समाधान लगायतका योजनाहरु पनि छन् ।

तपाई एक युवा नेता, तपाई जत्तिकै उर्जाशिल अरु युवाहरु तपाईको प्रत्यासी हुनुहुन्छ, उहाँहरु पनि राम्रै भिजन, एजेण्डा बोकेर चुनावी मैदानमा हुनुहुन्छ । जनताले तपाईलाई नै किन भोट दिने ?

हामी सबै सक्षम छौ । आआफ्नो क्षेत्रमा सबैको राम्रो छ । यदि भोली जनताले मलाई विश्वास गरेर जिताउनु भयो भने म मेरा प्रत्यासी मित्रहरुको घोषणा पत्रमा भएका योजनाहरु जुन मैले छुटाएको हुनसक्छु ती योजनाहरुलाई पनि समेटेर लान प्रतिबद्ध छु । म साझा व्यक्ति भएर काम गर्न समेत प्रतिबद्ध छु । त्यसो त जनताले कामको मुल्यांकन गर्नुनै हुनेछ । भोट हाल्नभन्दा अगाडि सोच विचार गरेर आफ्नो मत दिनुहुनेछ भन्ने लाग्छ र उहाँहरुको मत मैले जीत्छु भन्ने विश्वास पनि छ ।

अन्त्यमा के भन्नुहुन्छ ?
म एक साधारण, सामान्य परिवारको मान्छे हुँ । विना स्वार्थ जनताको सेवा गर्न चाहान्छु । म भलै नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार छु, नेपाली कांग्रेस पार्टिमा आस्था राख्छु तर सबै राजनीतिक दल, सबै क्षेत्रका व्यक्तित्वहरु, सबै वडाबासीको साझा व्यक्ति बनेर काम गर्नेछु । केराबारी वडा नं ९ का सबै मतदाताहरुलाई आफ्नो अमुल्य मत दिनुहुन समेत आग्रह गर्न चाहान्छु ।

Leave A Reply

Your email address will not be published.