राजधानीको विभिन्न स्थानमा नागहरूको पूजा गरी नाग पञ्चमी मनाइएको छ।

काठमाडौँ ।श्रावण शुक्लपक्षको पञ्चमी तिथिमा नागको पूजा गरी नाग पञ्चमी पर्व मनाइन्छ।राजधानीको नागपोखरी लगायत देशका विभिन्न स्थानमा नागहरूको पूजा गरी नाग पञ्चमी पर्व श्रद्धा र भक्तिपूर्वक मनाइएको छ। यस दिन घरघरमा नागको पूजा गरिन्छ र नागको चित्रमा दूध, दही, अक्षता, फूल, दूबो, पैसा राखी गाईको गोबरको सहायताले घरको ढोकामाथि टाँस्ने गरिन्छ। अनन्त, वासुकि, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी नागका आठ कुल छन्। यी अष्टकुल नागको पूजा गरी मूल ढोकामाथि नागको चित्र टाँस्नाले घरमा चट्याङ, आगो र सर्पको भय नहुने धार्मिक विश्वास रहेको छ। ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। नाग देवता भूमिमा बस्छन्। भूमिमा खनजोत गर्दा नागलाई कष्ट हुने सम्भावना देखिएकाले नागपञ्चमीका दिन हलो जोत्न र जग खन्न हुँदैन भन्ने मान्यता छ।
नागपञ्चमीका दिन नागको विशेष पूजाआजा गरिन्छ। यस दिन नाग देवताको प्रसन्नताका लागि दिनभरि व्रत बसी सूर्यास्तपछि नाग देवतालाई खीर चढाई प्रसाद ग्रहण गर्ने चलनसमेत रहेको छ। यसरी नागको पूजा–उपासना गरी द्वारमा नाग–नागिनीको चित्र टाँस्नाले सर्पभय हुँदैन भन्ने जनविश्वास छ।