११ जेष्ठ २०८३, सोमबार

केआईआईटीमा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला

20


भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी विश्वविद्यालयको छात्रावासमा मृत फेला परेकी छन् । विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँदिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ ।

वीरगन्जकी छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलामा रहेको आफ्नै कोठामा मृत फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारीअनुसार प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

‘बिहीबार करिब साढे ७ बजे नियमित जाँचका क्रममा उनले ढोका नखुलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सञ्जीव शर्माले , ‘विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावासलाई प्रारम्भिक विवरण जानकारी गराएको छ । थप बुझ्ने प्रयास भइरहेको छ ।’

यस्तै, दूतावासमा कार्यरत नियोग उपप्रमुख सुरेन्द्र थापाका अनुसार उडिसा सरकारका साथै प्रहरीको पनि निरन्तर सम्पर्कमा रहेर दूतावासले घटनामा चासो दिइरहेको छ । ‘अहिले नेपाली विद्यार्थीको शवलाई पोस्टमार्टमका लागि भुवनेश्वरस्थित एम्स अस्पताल लगिएको जानकारी प्राप्त भएको छ,’ उनले कान्तिपुरसँग भने, ‘हामी विश्वविद्यालय प्रशासनका साथै स्थानीय प्रहरी र प्रदेश सरकारका उच्च अधिकारीको निरन्तर सम्पर्कमा छौं ।’

गत फागुन ४ मा केआईआईटीको सोही छात्रावासमा रूपन्देहीकी प्रकृति लम्साल पनि मृत फेला परेकी थिइन् । लम्साल पनि क्यूसी–४ को चौथो तलामै रहेको कोठामा मृत फेला परेको ती विद्यार्थीले बताए ।

Leave A Reply

Your email address will not be published.